© २०२३
बुटवल,१४ कात्तिक । गैरआवासीय नेपाली संघ एनआरएनए (समानान्तर समिति) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।
संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीसहितका अभियन्ताहरुमाथि पनि कुटपिट भएको बताए ।
संघकै सभाहलमा बद्री केसी पक्षले एमाले नेता महेश बस्नेतसहित उपस्थित युवासंघको कार्यक्रम चलिरहेका बेला आरकेसहितका अभियन्ता संघको कार्यालयमा पुग्दा आक्रमण भएको हो ।
घटनापछि संघको कार्यालयमा प्रहरी पुगिसकेको छ र दुई पक्षबीच तनावको अवस्था रहेको छ ।
संघको ११ औँ महाधिवेशनमा नेकपा एमाले निकट बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी माओवादी केन्द्र निकट आरके शर्मा र का.ग्रेस निकट महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ । शर्माले आफूलाई आधिकारिक दाबी गर्दै समानान्तर समिति बनाएपनि कार्यालयमा प्रवेश पाएका छैनन् ।