© २०२३
दाङ, १३ कार्तिक । विभिन्न सामाजिक काममा कृयाशिल किवानिज क्लबले दाङको तुलसीपुरमा वृक्षरोपण संगै पोषणयुक्त खानाको महत्व बारे एक दिवसीय कार्यक्रम सम्पन्न गरेको छ । दाङका ७ वटा किवानिज क्लबहरूको संयुक्त आयोजनामा तुलसीपुर स्थित शान्ति पार्कमा विभिन्न औषधिय गुण भएका तथा सौदर्यता कायम राख्ने विरुवाहरू रोपिएको किवानिज क्लब लर्ड बुद्धका सचिव दामोदर बस्नेतले जानकारी दिए । तुलसीपुरको दुधेनामा रहेको नेचुरल एग्रो एण्ड नर्सरीले बिरुवा सहयोग गरेको थियो ।
कार्यक्रममा बोल्दै शान्तिपार्क गणेशपुरका अध्यक्ष डिल्ली भण्डारीले सामाजिक काममा कृयाशिल किवानिज क्लबको प्रशंसा गर्दै आगामी दिनमा झनै बढी रचनात्मक क्रियाकलाप संचालनका लागि शुभकामना दिएका थिए । यस्तै किवानिज क्ल्ब लुम्बिनी प्रदेशका गभर्नर भुपाल रावतले समाजको एक नेतृत्वदायी र समाज रूपान्तरणको सहयोगीको रूपमा क्लबलाई अगाडि बढाउनका लागि सबैसंग सहकार्य र समन्वयमा ध्यान दिइएको बताए । वक्ताहरूले कार्यक्रममा वृक्षरोपण र बालबालिकाको लागि पोषणयुक्त खानेकुराको महत्वबारे चर्चा गरेका थिए । किवानिज क्लब लर्ड बुद्धका अध्यक्ष वंशि कुमार शर्माले क्लबको उदेश्य र हालसम्म गरेको कामका बारे जानकारी गराएका थिए भने क्ल्बमै आवद्ध लोक दोहोरी गायक प्रेम विवस घर्तीले ’बुद्ध जन्मे लुम्बिनी’ लगायतका गीत गाउँदै कार्यक्रममा सहभागी बालबालिका र अन्य सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए ।
यसैबीच सो अवसरमा किवानिज क्लब अफ बबई गठन भएको छ । दामोदर भण्डारीको अध्यक्षतामा १९ सदस्यीय क्लब गठन भएको हो । यो क्लब अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब हो । किवानिस क्लबले विषेश गरि बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ९ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था रहेको बताइएको छ । सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने उदेश्य बोकेको यस क्ल्ब देशभर विस्तार हुँदै छ ।