Butwal Today

प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन असहज : ओली

१२ कार्तिक २०८०, आइतबार
अ+
अ-

काठमाडौं,१२ कात्तिक । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काममा असहज भएको बताएका छन्।

संघीय संसद् भवनमा आइतवार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा उनले प्रधानमन्त्री दाहालले हिंसात्मक गतिविधिलाई बढावा दिने काम गरेकाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम असहज बन्न गएको बताए। माओवादी युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा मनाउने प्रधानमन्त्री दाहालको कामले शान्ति प्रक्रियामा असहजता थपिएको कुरा ओलीले राष्ट्रसंघका महासचिव गुटेरेससँग राखेको भेटमा सहभागी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यता, महासचिव गुटेरेसले भने आफूले नेपालको शान्ति प्रक्रिया छिटोभन्दा छिटो निष्कर्षमा पुगेको हेर्न चाहेको बताएका थिए। त्यसैगरी, ओलीले महासचिव गुटेरेससँग प्रतिपक्ष दलको हैसियतमा आफ्नो पार्टीले शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउने काममा सक्दो सहयोग गर्ने बताएका थिए।

बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउन, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्या समाधानका लागि पनि संयुक्त राष्ट्रसंघबाट थप सहयोगका अपेक्षा गरिएको पनि ओलीले महासचिव गुटेरेसलाई बताएको एमाले उपमहासचिव ज्ञवालीले बताए।

महासचिव गुटेरेससँग ओलीले संयुक्त राष्ट्रसंघलाई नेपालजस्तो विकासोन्मुख देशको बलियो अभिभावकको रुपमा हेर्न चाहेको पनि बताएका थिए।