© २०२३
बुटवल,१ कार्तिक । लुम्बिनी केबलकार विजया दशमीका दिन पनि बन्द नहुने भएको छ । लुम्बिनी केबलकार लि.ले सूचना जारी गर्दै विजया दशमीलाई थप रमाइलो बनाउन र त्यस दिन केबलकार चढ्न चाहनेहरुलाई मध्यनजर गरी सेवा सुचारु हुने जनाएको हो । दशैंलाई लक्षित गरी केबलकारको टप स्टेशन बसन्तपुरमा दुई वटा लिंगे पिङ निशुल्क सञ्चालन गरेको र यही शुक्रबार चंगा चेट कार्यक्रम राखिएको कम्पनीले जनाएको छ ।
केबलकारले असोज २१ गतेदेखि दशैं, तिहार, नेपाल संवत र छठलाई लक्षित गरी टिकट दरमा ४० प्रतिशत छुटसहित चाडपर्व अफर समेत सञ्चालन गरेको छ । यो अफर अनुसार शनिबार वाहेक अन्य ६ दिनमा टिकट दर ४५० रुपैयाँ मात्र कायम भएको छ । चाडपर्व अफरमा विशेषगरी विद्यालय,कलेज,सहकारी जस्ता संस्थाबाट ठूलो संख्यामा समूहमा केबलकार चढ्न आउनेहरुको उत्साहजनक उपस्थिति हुने गरेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।
कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिएको छ ।केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर र दुर्गा भगवतीको सय वर्ष पुरानो मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
टप स्टेशनमा कम्पनीले ४० लाख लागतमा जीप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ । करिब सय जनालाई रोजगारी दिएको केबलकारले प्रत्येक टिकटको दुई प्रतिशत रकम बुटवल उपमहानगर र तिनाउ गाउंपालिकाले बराबर बांड्ने गरी छुट्याउने गरेको छ ।
Photo Credit : Mithun Kunwar