© २०२३
बुटवल,१ कार्तिक । ब्राहमण समाज रुपन्देहीले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । समाजको वैठकले कार्तिक २० गते रक्त सञ्चार सेवा केन्द्र बुटवलमा वृहत रक्तदान गर्ने निर्णय गरेको हो ।
समाजको जिल्ला समितिको पहिलो कार्यक्रम भएकाले सकेसम्म धेरै जनालाई रक्तदानमा सहभागी गराउन सबै पालिका समितिले पहल गर्ने निर्णय भएको छ ।
वैठकले छाडा छाडिंदा समस्या बनेको राष्ट्रिय जनावर गाईको संरक्षण र व्यवस्थापनका लागि जिल्लाका सबै पालिकामा ज्ञापनपत्र बुझाउने, वैदिक सनातन धर्म, संस्कृतिको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गर्ने, हिन्दुहरुको भाषा संस्कृतिको जर्गेना गर्न घर घरवाट पहल शुरु गर्न सबैमा आह्वान गरेको छ । जन्म दिनमा पाश्चात्य संस्कृतिको सिको गरेर केक काट्ने, बत्ती निभाउने जस्ता संस्कारको साटो पूजाआजा गरी जन्म दिन मनाउने विषयलाई आफ्ना परिवारमा जानकारी गराउन अभियान थाल्न पनि वैठकले आग्रह गरेको छ ।
वैठकमा समाजका सल्लाहकार बुद्धि प्रसाद पाण्डेले गौमाताको रक्षा र हिन्दुत्वको सस्कार जोगाउन गाईको पञ्जिकरण अनिवार्य गरिनुपर्ने सुझाव दिए । कार्यक्रममा समाजका केन्द्रिय सह अध्यक्ष रोमणी पाठक, समाजकी केन्द्रिय सदस्य पार्वती भण्डारीले संस्थालाई चलायमान गराउन सदस्यता विस्तार र कोष बृद्धिमा ध्यान दिन सुझाव दिइन् । समाजका अध्यक्ष टोपलाल भुसालले समाजले हरेक काम बैठकवाट निर्णय गरेर गर्ने र सोही आधारमा बांकी कामलाई आगामी दिनमा प्राथमिकताका साथ अगाडी बढाउने बताए । वैठक संगै दशै, तिहार छठको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको सचिव दिवाकर अधिकारीले बताए ।
संगै