© २०२३
बुटवल, ३० असोज ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रहरीको व्यावसायिक र सांगठनिक क्षमता विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । प्रहरी संगठनप्रति आम मान्छेको विश्वास भएकै कारणले अहिलेको उचाई प्राप्त गरेको भन्दै मुख्यमन्त्री चौधरीले हरेक परिस्थितिमा इमान्दारपूर्वक राष्ट्र र जनताको सेवामा लाग्न निर्देशन दिए ।
६८ औं प्रहरी दिवसको अवसरमा मंगलबार बुटवलमा आयोजना गरिएको विशेष समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले नेपाल प्रहरी आमनागरिकको विश्वास जित्न सफल संगठन भएको बताए । उनले जनसम्पर्क विस्तार र जनविश्वास जितेकै कारण प्रहरी संगठनप्रति सबैको भरोसा बढ्दै गएको उल्लेख गरे । अहिलेको जसरी जनविश्वास जित्दै निरन्तर राष्ट्रको सेवामा लाग्न प्रहरी कर्मचारीलाई आग्रह गरे ।
‘हरेक हिसाबले प्रहरीको भूमिका महत्वपूर्ण छ, प्रहरीको कार्य प्रशंसायोग्य पनि छ’, उनले भने, ‘यसलाई जीवन्त बचाइ राख्न लागिराख्नुभएको छ, अझै प्रभावकारी र भरोसायोग्य संगठन बन्नुपर्छ ।’ उनले प्रहरी साङ्ठनिक ब्यवस्था, कुशल प्रदर्शन क्षमता र जिम्मेवारी बोकेको संगठन भएको भन्दै प्रशंसा समेत गरे । ‘नेपाल प्रहरीले आजको दिनसम्म ब्यवसायिकता गुमाएको छैन । गुमाउन दिनु पनि हुँदैन’, उनले भने, ‘यसका लागि तलदेखि माथिल्लो तहसम्मका प्रहरी कर्मचारी कटिबद्ध भएर लाग्नुपर्छ ।’
‘प्रहरीलाई प्रविधिमैत्री बनाउन, कर्मचारीको क्षमता विकास र बदलिँदो परिस्थितिसँग जुध्न प्रदेश सरकारले जस्तोसुकै सहयोग गर्नेछ’, उनले भने ।