© २०२३
प्युठान,२८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि गराएर देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको जनाएका छन् । आइतबार प्युठानको विजुवार जरुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताए ।
‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित भई कोशी प्रदेशमा विद्रोह भएको ओलीको भनाई छ । उनले एमाले मध्यावधिमा जान तयार भए पनि, एमालेलाई मध्यावधिले फाइदा हुने भएपनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न, मध्यावधिमा जान नदिन कांग्रेसको विद्रोहलाई समर्थन गरेको प्रष्ट्याए ।
उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनले सबैतिर संघीयतामाथि वितृष्णा जगाएको बताए ।
अध्यक्ष ओलीले अब एमाले सुदृढ भएको र गठबन्धनको पक्षमा नरहेको बताउँदै २०८४ को निर्वाचनमा ५१ प्रतिशत वडादेखि संसदसम्म ल्याउनेगरी अभियानमा लाग्न आग्रह गरे ।
‘एमाले सकाउन लागेकाहरु आफै सकिन लागेको ओलीले बताए । ओलीले प्युठान आन्दोलन र जागरणको इतिहास भएको जिल्ला भएको र ७० वर्ष अघिबाट यहाँको जागरणको विषयमा आफूले अध्ययन गरेको बताए । आइतबार बिहान हेलिकप्टरबाट प्युठान आएका उनी बिहान स्वर्गद्धारी दर्शन, प्युठानको विजवार ज्रुमीमा अगुवा कार्यकर्ता भेटघाट, नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन सकेर आजै काठमाडौं फर्कने कार्यक्रम छ । उनी २९ वर्षपछि प्यूठान आएका हुन् ।