© २०२३
बुटवल, असोज २८ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनहरुलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुद्धिकरणको बिषयलाई लिएर तालाबन्दी गरेर महासंघको गरिमा नघटाउन आग्रह गरेका हुन । शुद्धिकरणको बिषयलाई लिएर ठाउँ ठाउँमा प्रेस चौतारीले तालाबन्दी गरेकोतर्फ संकेत गर्दै संवाद र वार्ताबाट निकासमा जान सकिने अध्यक्ष पोख्रेलले आग्रह गरे ।
‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धिकरण गरिएको हो, तालाबन्दी र निषेधले पत्रकार महासंघको ओज घट्ने अध्यक्ष पोखरेलले बताए । उनले संवाद ,सहकार्य, विधान र शुद्धिकरण अनुसार अघि बढ्नुपर्ने बताए ।
उनले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता संगठन बनाउने हिसाबले जानुपर्नेमा जोड दिंदै टाउका गनेर हिसाकिताबमा मात्रै सिमित नहुन आग्रह गरे । उनले नेपालको पछिल्लो राजनीतिमा समेत सहकार्यको विकास भएकाले नेतृत्वमा कसैलाई पनि निषेध गर्न नहुने बताए । उनले विगतमा निषेध गरिएपनि अब त्यसो हुन दिन नहुने उनको भनाई छ । कोही मिलेर कसैलाई सक्ने नभई सबैलाई समेटेर लैजानका लागि शुद्धिकरण गरिएको बताए ।
उनले पछिल्लो समय सरकार सरकारजस्तो नहुने, संसद संसदजस्तो नभएको बताउँदै अदालत, प्रहरी, कर्मचारी संयन्त्र जताततै प्रश्न उठ्दा पत्रकार महासंघले आफैबाट शुद्धिकरण थालेको बताए ।
अध्यक्ष पोखरेलले पत्रकारितामा बुटवल नै राजधानी रहेको बताउँदै त्यसका लागि पूर्वाधार निर्माण गर्ने गरी योजना बनाउन आग्रह गरे ।
उनले दशैं, तिहार, छठ र नेपाल सम्वत जस्ता पर्वहरुले सञ्चारक्षेत्रको विज्ञापन बजारको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चाडपर्वहरुमा तडकभडक र विकृतीहरु देखा परेको बताउँदै यसतर्फ सञ्चार क्षेत्रले बहस चलाउनुपर्ने बताए । उनले नेपाली चाडपर्वको आफ्नै खालको मौलिकता रहेको तर, विपन्न समुदायको बारेमा पनि सोच्नुपर्ने समय आएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले चाडपर्वहरुले सबैलाई एकतामा जोड्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्र र प्रदेशका नेतृत्व, रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार, राजनैतिक पार्टीका नेतृत्व, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था, पत्रकार सम्बद्ध संगठनका व्यक्ति र पत्रकारहरुको उपस्थिती रहेको सचिव विनोद परियारले जानकारी दिए ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीलाई सम्मान गरिएको छ । पत्रकार महासंघ रुपन्देहीका पूर्व सहसचिव भण्डारी रुपन्देहीबाटै पत्रकारितामा लागेर हाल अमेरिका स्थित पत्रकारहरुको संस्थाको अध्यक्ष भएकोमा सम्मान गरिएको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले खादाले सम्मान गरेका हुन ।