© २०२३
काठमाडौं,२६ असोज । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको र सरकार यही गति र यही मतिमा चल्ने हो भने राम्रो परिणाम नल्याउने दावी गरे ।
सुकुम्बासीको समस्या समाधान नगर्ने, विकासको काम नगर्ने, महँगी नियन्त्रण नगर्ने, राष्ट्रिय गौरवका आयोजना ध्वस्त पारिराख्ने र खालि सत्ताको लुछाचुँडीमा रहने प्रचण्ड नेतृत्वको सरकारको विकल्प आवश्यक रहेको बताउँदै कांग्रेस सांसद गौतमले नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्न माग गरे ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएका उल्लेख गर्दै उनले संविधानको रक्षाका लागि समेत राष्ट्रिय सरकार आवश्यक रहेको बताए ।
राष्ट्रिय सरकार बनाएर संविधानमा आवश्यक संशोधन गर्ने, निर्वाचन प्रणाली र संघीयता कार्यान्वयनको सवालमा सोच्न आवश्यक रहेको उनले बताए ।