© २०२३
काठमाडौं,२६ असोज । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले आन्दोलनरत स्थानीय तहका कर्मचारीका जायज मागलाई सरकारले पूरा गराउनुपर्ने बताएका छन् । शुक्रबार संसदको विशेष समयमा बोल्दै उनले स्थानीय तहका कर्मचारीहरुले उठाएका कतिपय मागहरु पूरा गर्नैपर्ने प्रकृतिका रहेका बताए ।
जनतालाई घरदैलोमा पुगेर सेवा दिने स्थानीय तहका कर्मचारीहरु रहेको उल्लेख गर्दै सांसद घिमिरेले उनीहरुलाई असन्तुष्ट बनाएर ल्याइने नयाँ कानूनले सामाजिक न्याय स्थापित गर्न नसक्ने स्पष्ट पारे । शिक्षा विधेयकका सन्दर्भमा देखिएको नियति निजामति विधेयकमा नदोहोरियोस् भन्नेतर्फ सजग रहन सरकारलाई आग्रह गर्दै उनले जुनसुकै सरकारमा रहेर काम गरे पनि कर्मचारीहरुको वृत्तिविकास, सुविधा र क्षमता विकासको अवसरमा समानता हुनु पर्ने बताए ।
संघीय कर्मचारी र स्थानीय तहका कर्मचारीहरु बीच हाल देखिएको गहिरो विभेद र असमानताको अन्त्य हुनुपर्नेमा जोड दिँदै सांसद घिमिरेले जुनसुकैं सरकारी तहमा बसेर काम गरे पनि कर्मचारीहरुमा हार्दिकता र समानता हुनुपर्ने बताए । सांसद घिमिरेले बजार अनुगमन चाडपर्वका बेलामा मात्र नभई नियमित र प्रभावकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।