© २०२३
काठमाडौं,२६ असोज । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन हुने भएको छ ।
अध्यक्षमा सिराहाका चण्डेश्वर मण्डल, उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी रौतहट र मोहम्मद कैस धनुषाले उम्मेदवारी दर्ता गर्ने सहमति जुटेपछि सर्वसम्मत हुने भएको हो । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ ।
निर्वाचन मण्डलले उनीहरूको नाम अनुमोदन गर्ने छ ।
जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको नेताहरूले बताएका छन् ।
यसमा एमालेभित्र स्थानीयस्तरमा देखिएका समूहहरुलाई व्यवस्थापन गरिएको छ । अध्यक्ष छनोट भएका मण्डल पोलिब्युरो सदस्य लिलानाथ श्रेष्ठ निकटका छन् भने उपाध्यक्ष विचारी यादव केन्द्रीय सचिव रघुवीर महासेठ निकट मानिन्छन् ।
यस्तै सचिव पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुलीकुमारी महतो निकट रहेको स्रोतले बताएको छ ।
निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो ।