© २०२३
बुटवल,२५ असोज । कोशी प्रदेशमा सरकार गठन प्रकृयामा नेपाली कांग्रेस संसदीय दलमा विभाजन आउने संकेत देखिएको छ । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्रीमा इन्द्र आङ्बोलाई अगाडि सार्ने निर्णय गरे पनि शेखर कोइराला पक्षका केदार कार्कीको समूहले उक्त निर्णय नमान्ने भएको छ । कार्कीले मुख्यमन्त्रीमा आफ्नो दाबी यथावत् भएको बताए ।
पूर्वआन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कार्कीले मुख्यमन्त्रीको दाबी नछाड्दा गठबन्धनमा समस्या देखिएको छ । कार्की निकटका सांसद रणनीति बनाउन छलफलमा व्यस्त छन् । कार्की कांग्रेसका ७ देखि ९ जना सांसदको हस्ताक्षरसहित एमालेसँगको सम्पर्कमा रहेको स्रोतले बताएको छ ।
कार्कीनिकटका एक सांसदले पनि आफूहरूले दाबी नछाडेको बताए ।
ती सांसदले नेतृत्वले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीको रूपमा अगाडि सारे पनि आफ्नो उम्मेदवार केदार कार्की हुने बताए ।
संविधानको धारा १६८ (३) अन्तर्गत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अन्तरगत सरकार गठनको लागि भोलि साँझसम्मको समय दिएका छन् ।
सत्ता गठबन्धनको आज बालुवाटारमा बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने निर्णय गरेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । उनले कांग्रेसभित्रको विवाद मिलिनसकेको भए पनि अन्तिममा कांग्रेस एक हुने दाबी गरे ।
एमाले भने यदि बहुमत पुर्याउने संख्या लिएर आउनेलाई मुख्यमन्त्रीमा सहयोग गर्ने रणनीतिमा छ । काम चलाउ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गठबन्धनका कोही पनि सांसद बहुमत पुर्याउने सदस्य लिएर आए एमालेले सहयोग गर्ने बताए ।