© २०२३
बुटवल,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको छ ।
बालुवाटार आज बसेको सत्ता गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा कांग्रेसभित्रै विवाद भएपछि सभापति शेरबहादुर देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएका हुन् ।
कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।
संविधानको धारा १६८ (३ ) अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५ ) अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन् ।