© २०२३
भैरहवा, २५ असोज ।
भारतबाट बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरुका लागि नागरिक÷यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
सवारी दुर्घटना न्यूनिकरण, विदेशबाट आउने यात्रुका लागि सहजताका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय रूपन्देहीका प्रमुख बरिज सिंह बिष्टले जानकारी दिए ।
चाड पर्वका अवसरमा यात्रुहरुलाई अनाश्यक हैरानी नहोस्, सहायता होस् भन्ने हेतुले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले, रुपन्देही जिल्लाका पाँच स्थान बेलहिया नाका, भैरहवा बसपार्क, बुटवल बसपार्क, कालीदह नाका र लुम्बिनीको पर्सा चौराहामा यात्रु सहायता कक्ष स्थापना गरिएको बिष्टले जानकारी दिए ।
बेलहिया नाकामा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले यात्रु सहायता कक्षको उदघाटन गरेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले सहायता कक्षले चाडपर्वका बेला यात्रा गर्ने यात्रुहरुलाई सहजता हुने बताए ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सिद्धार्थ उद्योग वणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, होटल ब्यावसायी संघ, बेलहिया गाउँसमाज, सिद्धार्थ यातायात ब्यावसायी समिति, नेपाल पत्रकार महासंघ एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । यात्रु सहायता कक्ष छठ पर्वसम्म रहने जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले जनाएको छ ।