© २०२३
धनगढी,२३ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रथम अधिवेशनमा अध्यक्षमा कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा,गजेन्द्र शाही, कालिबहादुर शाही र हजारीसिंह साउदले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए ।
उनका अनुसार सचिवमा रणबहादुर चन्द,रतन बहादुर रेग्मी र राजेश खाती, उपसचिवमा महिलातर्फ भागरथी विष्ट कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
अबको केही वरेमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ । उम्मेदवारी फिर्ता,उम्मेदवारको विरुद्धमा उजुरी दिने चरण सकिएपछि मतदान सुरु हुने पालले बताए ।
अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।
अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागी छन् । बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरी एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरी एक सय १७ जना प्रतिनिधि छन् ।
बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरी ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरी ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरी १८ जना प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरी ७५ जना प्रतिनिधि रहने छन् । यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरी ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरी ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरी ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरी ५४ जना प्रतिनिधि रहेका छन् नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् ।
पार्टीको बुद्धिजीवी विशेष इलाका कमिटीबाट एक महिला र चार पुरुष गरी पाँच जना प्रतिनिधि र मजदुर विशेष इलाका कमिटीबाट एक महिला, चार पुरुष गरी पाँच जना प्रतिनिधि सहभागी छन् ।