© २०२३
बुटवल,२२ असोज । विवादास्पद अभिव्यक्ति दिंदै आएका व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । यो खबर तयार गर्दासम्म उनलाई कालो मोसो दल्ने कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ । अनुहार र कमिजमा कालो मोसो दलिएपछि कमिज फालेर प्रसाई भेष्टमा देखिएका थिए । केही समय यता प्रसाईले मारवाडी समुदायका १६ जनाविरुद्ध विवादास्पद अभिव्यक्ति दिंदै आएका थिए । प्रसाईले आज मारवाडी समुदायलाई लक्षित गरी ब्यानरमा उनीहरुको फोटो सार्वजनिक गरेका थिए ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईँले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भन्दै कालोमोसो दस्ता नै बनाएका थिए । गत फागुन १३ गते चितवनमा कालोमोसो दस्ताको केन्द्रीय संयोजकको रूपमा शम्भु थापालाई घोषणा गरेका थिए ।