© २०२३
बुटवल, २२ असोज ।
इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका छन् । १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले उद्धार गरिदिन आग्रह गरेका हुन् ।
आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका हुन् । विद्यार्थीहरूको नेतृत्व गरेका लिडर विपिन सुवेदीले आफूहरूको अवस्था निकै नाजुक रहेको बताए ।
शनिवारदेखि बंकरभित्रै लुकेर बसेका उनले एक भिडियो सन्देश जारी गर्दै तत्काल उद्धारको पहल गरिदिन आग्रह गरेका हुन् । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताए ।
‘हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो,’ उनले भिडियोमा भने, ‘एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन ।’
बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो नरहेको उनको भनाइ छ । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा रहेको बताए ।
‘४९ जनामा १० जना त गुमाइसक्यौँ । अझै पनि जति बचेका छौँ । त्यतिलाई उद्धार गरिदिनुहोस् । देश फर्किएर कृषि क्षेत्रमा हामी केही न केही गर्छौ होला । हामीलाई मिटिङ बसिरहेको छ । उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगर्दिनुहोस् । तपाईँहरू जे जस्तो गरेपछि हामीलाई उद्धार गरिदिनुहोस्’ उनले भने ।
आज दिनभरीमा उद्धार हुन्छ कि भन्ने आशले यो भिडियो बनाएको उनको भनाइ छ ।