© २०२३
धनगढी, २२ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि धनगढीमा सुरु भएको अधिवेशनमा सहमतिको अन्तिम प्रयास भइरहेको छ ।
अध्यक्षका आकांक्षी कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र वचनबहादुर सिंहलाई सँगै राखेर पार्टी महासचिव शङ्कर पोखरेलले नेताहरूका बिचमा छलफल गरिरहेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली भने आइतबार नै काठमाडौँ फर्किएका थिए । ओलीकै निर्देशन अनुसार बन्द सत्रलाई थाती राखेर अहिले सहमतिका लागी नेताहरू छलफलमा छन् ।छलफल निष्कर्षमा पुग्न नसके बन्द सत्र सँगै चुनावी प्रक्रिया सुरु हुने एमालेका एक नेताले भने ।
तीन जना आकांक्षी मध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्ने गरी छलफल भइरहेको नेताहरू बताउँछन् ।
अधिवेशनमा ६ सय ७५ प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट एक सय ५५ सदस्यीय कार्यसमिति चयन हुने छ । जसमा प्रदेशमा अध्यक्षसहित उपाध्यक्ष र सचिव एक÷एक र सह–सचिवमा दुई जना रहने छन् ।