© २०२३
पाल्पा, २१ असोज ।
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टीको बैंठकमा उपस्थित नहुनेलाई जिम्मेवारी नदिने बताएका छन् । नेकपा एमाले तानसेन नगर कमिटी र प्रेस चौतारी पाल्पाबिच भएको समन्वयात्मक बैठकलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यकर्ताको काम र भूूमिकाको आधारमा आगामी जिम्मेवारी प्रदान गर्ने गरी पार्टी पद्धतिको विकास गर्न लागिएको अध्यक्ष कंडेलले बताए । उनले भने, ‘अहिले पार्टीमा अराजकता बढ्दै गएको, पद लिदा मरिहत्ते गर्ने, पद लिएपछि बैठकमा उपस्थित हुन नभ्याउनेलाई जिम्मेवारी दिदैनौं ।’ लुम्बिनीका सबै जिल्लाहरुमा आउँदो चैत मसान्त भित्र टोलदेखि जिल्लासम्मको नयाँ अधिवेशन सक्ने डेडलाईन भएकाले विगतमा जिम्मेवारी अनुसारको काम नगर्नेलाई थप जिम्मेवारी नदिने गरी पार्टीले नयाँ नेतृत्व छनौट गर्ने नीति लिएको अध्यक्ष कंडेलले बताए । स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म बनेका गठबन्धनबाट जन विरोधी काम भएकाले विरोधमा उत्रिन कार्यकर्ताहरुलाई अध्यक्ष कडेलले अनुरोध गरे ।
बैठकमा तानसेन नगर वडा कमिटी अध्यक्षहरुले पार्टीका गतिविधि बारे जानकारी गराएका थिए । पाटर्टीभित्र अझै पनि अन्तरघातीहरु रहेकाले छानविन समिति बनाएर जिल्ला नेतृत्वले कारवाही गर्नुपर्ने सहभागीहरुले जोड दिए । नगर इन्चार्ज दामोदर घिमिरेले पार्टी र जनताका गतिविधिहरु बाहिर लैजान प्रेस चौतारी र पार्टी कमिटीबिच सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।
बैठकले तानसेन नगरपालिका १४ वटै वडामा दशै तिहारको अवसरमा शुभकामना आदान–प्रदान, जेष्ठ नागरिक सम्मान, पार्टी सदस्यता नविकरण तथा विस्तार, हाल भईरहेका विकास निर्माण बारे जानकारी लिने दिने आवश्यक स्थानमा समन्वय गर्ने, प्रचार प्रचारको काममा चौतारी पाल्पासँग समन्वय गरी काम गर्ने निर्णय भएको एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयले बताए । कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले चौतारीले गर्दै आएका काम तथा गतिविधि, सहकार्य तथा समन्वयको अवस्था बारे जानकारी गराएका थिए ।