© २०२३
काठमाडौं,२१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीआरआई कार्यान्वयका लागि सरकारले छिट्टै कार्ययोजना बनाएर दुवैतर्फका साझा संयन्त्र परिचालन गरी काम गर्ने बताएका छन् ।
नेपाल चीन फ्रेण्डसिप फोरमद्वारा आयोजित बीआरआईको एक दशक व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक सेमिनारमा उनले विगत १० वर्षमा बीआरआईमार्फत मात्र १ हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्र्याउन नसकेको स्वीकारेका छन् ।
उनले त्यसका लागि सरकारको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत अवरोध हटाउने प्रतिवद्धता जनाएका छन् ।
बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसंगमा उनले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताए छन् । चिनियाँ पक्षले लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनामा अनुदान र सहायताको नीति लिने प्रचण्डको विश्वास छ ।
प्रधानमन्त्री प्रचण्डले नेपाल विगतदेखि नै एक चीन नीतिको पक्षमा दृढ रहेको दोहोर्याए ।