© २०२३
बुटवल, २० असोज ।
रोटर्याक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले यही असोज २६ गते रोटर्याक्ट नाइट म्यूजिकल फेस्ट आयोजना गर्ने भएको छ ।
लायन्स क्लवले भैरहवामा स्थापना गर्न लागेको ब्लड बैंकको लागि सहयोग पु¥याउन र चाडपर्वमा अनाथ तथा असहायहरुलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले म्यूजिकल फेस्ट गर्न लागिएको हो ।
तिलोत्तमाको मंगलापुरस्थित बोधिभिल्लामा हुने म्यूजिकल फेस्टमा युवा पुस्तामाझ रुचाइएका चर्चित कलाकारहरु नितेशजंग कुँवर र समृद्धि राईले आ–आफ्नो प्रस्तुती दिनेछन् । पछिल्लो समयका लोकप्रिय गायक हुन्, नितेशजंग कुँवर । उनले फिल्म समेत खेलिसकेका छन् । त्यस्तै कुनैबेला पत्रकार समेत रहेकी समृद्धिले सन् २०१० मा मिस नेपालमा भाग लिएकी थिइन्, तर उनी अन्तिम पाँचभित्र मात्रै समेटिइन् । उनले केही गीत रिलिज समेत गरेकी छन् ।
रोटर्याक्ट म्यूजिकल फेस्टका लागि एक हजार र १५ सय दरका टिकटको व्यवस्था गरिएको र हालसम्म करिव ५ सय टिकट बिक्री भइसकेको रोटर्याक्ट क्लव अफ तिलोत्तमाका अध्यक्ष कमल अर्यालले जानकारी दिए ।
क्लवले यसबाट ५ लाख रुपियाँ बचत गर्ने लक्ष्य लिएको छ । बचत रकम मध्ये केही लायन्सले निर्माण गर्न लागेको ब्लड बैंकको लागि प्रदान गरिने र केही रकमबाट अनाथहरुलाई खाद्यान्न सहयोग गरिने अर्यालले बताए । म्यूजिकल फेस्टमा १५ सय देखि २ हजार जना सहभागी हुने लक्ष्य आयोजकहरुले राखेका छन् । युवा पुस्ताको चाहनालाई मध्यनजर गर्दै म्यूजिकल फेस्ट गर्न लागिएको र विभिन्न लोकल ब्याण्डले पनि आ–आफ्नो प्रस्तुती दिने क्लवका युवराज भट्टराईले बताए ।