© २०२३
चन्द्राैटा(कपिलवस्तु), २० असाेज ।
कपिलवस्तुका पाँच स्थानमा यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । चाड पर्वमा आवत–जावत गर्ने यात्रुलाई लक्षित गरि हेल्प डेस्क स्थापना गरिएको हाे ।
यात्रुहरुको बढी भिडभाड र आगमन हुने प्रमुख चोक र बसपार्कमा सहायता कक्ष स्थापना गरिएको जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले शनिबारदेखि कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा र तौलिहवामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएकाे ट्राफिक प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अनीश भण्डारीले दसैँ तिहारमा घरमा आउने र जाने यात्रुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउन र नागरिकहरुमा पर्ने समस्यामा सहयोग गर्न कक्ष स्थापना गरिएको उनले बताए । ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार चाड पर्वको बेला क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने क्रियाकलाप निरुत्साहित हुनेछ ।
दशैँमा यात्रुहरूको चाप बढी हुन्छ । उनीहरूलाई आउने समस्यामा सहयोग गर्नेगरी प्रहरी खटिएको छ । नेपाल भारत सीमामा रहेको कृष्णनगर नाका हुँदै घर फर्किनेहरूको चाप अत्यधिक हुने भएकाले हेल्पडेस्कमा विशेष चासो हुने ट्राफिक प्रहरी नायव निरीक्षक राघवसिंह राठाैरले बताए । निरीक्षक रठाैरका अनुसार सहायता डेस्कमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिने छन् । यात्रु चढ्ने स्थलमा प्रहरी सक्रियता हुँदा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रुहरू राख्ने, यात्रुलाई अनावश्यक सास्ती दिनेलगायतका कार्य निरुत्साहन हुने छ ।