© २०२३
तुलसीपुर, २० असोज । दाङको तुलसीपुरमा कोठा भाडामा बस्ने सल्यानका एक दम्पती मृत अवस्थामा फेला परेका छन् । सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भई अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्जादी २५ वर्षीय शुसिल भण्डारी र उनकी अन्दाजी २१ वर्षीय श्रीमती पवित्रा डाँगी भण्डारी कोठा भित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए। आज शनिबार बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठा भित्रै दुबैजना मृत फेला परेका हुन् । श्रीमान पंखामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताए ।
अबेरसम्म पनि नउठेपछी घरवेटीले प्रहरीलाई खबर गरेका थिए । उनीहरुबिच केही समय अगाडी मात्रै बिबाह भएको खुल्न आएको प्रहरीले जनाएको छ । पवित्राको माइतीघर सल्यानको शारदा नगरपालिका १२ मा रहेको बताइएको छ । शुसिलले श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार पवित्राको शरिरमा चोट देखिएपनी धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखीएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।