© २०२३
सल्यान, १८ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ । दीर्घकालिन महत्वको यस सडक स्तरवृद्धिका लागि विहिबार ईन्जिनियरिङ सर्वे गरिएको गाउँपालिकाले जनाएको छ ।
छत्रेश्वरी गाउँपालिकाको ८० लाख र संघीय समपुरक अनुदानको ८० लाख गरेर एक करोड ६० लाख रूपैयाँ बजेटबाट सडक स्तर उन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए ।
बाह्रै महिना सहज रूपमा गाडी सञ्चालन हुनेगरी सडक स्तर उन्नती हुने भएपछि छत्रेश्वरी ३ र ४ का वासीन्दाहरू खुसी छन् । सर्वे टोलिसंगै स्थलगत सडक निरिक्षणमा पुगेका अध्यक्ष बुढाथोकीले प्राविधक टोलिलाई गुणस्तरिय कामका लागि निर्देशन दिए । सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभै गाँउको उत्पादनलाई शहरसम्म पुर्याउँने, थातथालो छोड्नेको संख्यामा कमि ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता समेत दिलाउने भएकाले गुणस्तरिय सडक निर्माणमा जोड दिइएको उनको भनाई छ ।