© २०२३
बुटवल, १५ असोज । रुन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मा रहेको उत्तम साईलेज उद्योग र उन्नत एग्रो फार्मले पशुपालक किसानहरूलाई तालिम संचालन गरेको छ । नेदरल्याण्डबाट आएका पशु बिज्ञको सहयोगमा ३ दिनसम्म गोठमै पुगेर सैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको होे ।
गाई पालन गर्दा आउने समस्या, पशु आहार, गोबरबाट गाईको अवस्था थाहा पाउने तरिका, खुट्टाको खुरबाट आउने समस्या, खुर काट्ने तरिका र तौल मापनसँगै रोग पत्ता लगाउने तरिकाको विषयमा प्रयोगात्मक तालिम संचालन गरिएको हो ।
पोम नेदरल्याण्डका पशु विशेषज्ञ ब्रेण्ड जन स्टोईलले कृषक पशुपालन ब्यवसायबाट बढि लाभ लिनको लागि हरियो घासँको प्रयोगमा जोड दिए । कार्यक्रमको सहजिकरण समेत गरेका उनले गाईलाई रोग लाग्नु भन्दा अघि देखाउने लक्षण र समस्या सामाधानका उपायका बारेमा शैद्धान्तिक ज्ञान प्रदान गरेका थिए । गाईको गोबरको अवस्था हेरेर गाईको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताउँदै उनले पशु आहारमा सुधार गर्न सके किसानले बढि लाभ लिन सक्ने सुनाए ।
तिलोत्तमामा विगत १० वर्षदेखि ब्यवसायीक पशुपालन गर्दै आएका किसान तथा उत्तम साईलेज उद्योगका संचालक भेषराज पाण्डेयले पशुपालन किसानलाई लाभ मिल्ने गरी अति आवश्यक पर्ने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम संचालन गरिएको जानकारी दिए ।
उन्नत एग्रो पार्मका सहसंचालक रूपेशश पाण्डेयले नेदरल्याण्डमा गरीने ब्यवसायीक गाईपालनको अध्ययन गरेको र त्यहाँ सिकेको सीपलाई सोही अनुसार किसानलाई प्रोत्साहन गर्नको लागि तालिम संचालन गरिएको जानकारी दिए ।
१५ दिनसम्म नेदल्याण्डमा गएर गाईपालनको अध्ययन गरेको र त्यहाँका पशुबिज्ञबाट कृषकहरूलाई प्रत्यक्ष लाभमिल्ने गरी तालिम संचालन गरीएको बताए । ३ दिने कार्यशालामा आईतबार शैद्धान्तिक र सोमबार र मंगलबार प्रयोगात्मक तालिम संचालन गरिनेछ । तालिमबाट तिलोत्तमाका २० जना ब्यवसायीक पशुपालक किसानहरू लाभान्वित भएका छन ।