© २०२३
बुटवल,१४ असोज । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गणेशमान पुनले आफ्नो पार्टी बिग्रिएको सत्य भएको बताएका छन् । आज बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पुनले यसअघि बसेको केन्द्रीय समिति वैठकमै पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको स्वीकार गरेरै जनतासंग माओवादी अभियान सञ्चालन गरिएको बताए । माओवादी विभिन्न १५ वटा मुद्दामा चुक्दा बिग्रिएको अध्यक्ष प्रचण्डले नै स्वीकार गरेको पुनले बताए । पार्टीले जन सरोकार र जनजिविकाका मुद्दा उठाउन चुकेको र जनतासंगको सम्बन्ध टुटेको,जनताको तहमा जान नसकेको,जनताका मुद्दामा वहस मरेको पार्टीले महसुस गरेको नेता पुनले बताए । माओवादी सहित नेपालका कम्युनिष्ट पार्टीहरुमा बामपन्थ सकिएको र बामपन्थी एजेण्डा सकिएको पुनले बताए ।
नेता पुनले वामपन्थी एकताको खांचो समेत औंल्याए । जनतासंग माओवादी अभियान अन्तर्गत आफू रुपन्देही आएपछि पार्टीका विभिन्न जनवर्गीय,भातृ,सामाजिक संघसंस्था संग अन्तरक्रिया गरी राय सुझाव संकलन गरेर आगामी कार्ययोजना बनाउने बताए ।
अब माओवादी समुदायस्तरमा जाने र संगठन सुदृढ बनाउने नेता पुनले बताए । सो अवसरमा जिल्ला संयोजक निर्मल जीसीले अहिलेको पार्टीले चलाएको अभियानले पार्टीमा उत्साह जागेको बताए ।