© २०२३
बुटवल, १३ असोज ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपन्देहीले सामुदायिक वन उपभोक्ता समूहमाथि सरकारले तेहेरो कर लगाएको आरोप लगाउँदै तुरुन्त फिर्ता गर्न माग गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीले शनिबार बुटवलमा विरोधसभाको आयोजना गर्दै तेहेरो कर फिर्ता लिन माग गरेको हो ।
महासंघले बुटवलको राजमार्ग चौराहाबाट -याली निकाली पुष्पलाल पार्कमा विरोधसभा गरेको थियो । सभालाई संबोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समूहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरी ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको बताए ।
वन र वातावरण संरक्षणमा सामुदायिक वन समूहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रूपमा परिचित हुन सफल भएको बताउँदै उनले एकद्वार प्रणालीबाट कर लिन सरकारसँग माग गरे । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष बिर्षबहादुर शाहीले सरकार र वन कर्माचारीबाट वनमाथि पटक–पटक आक्रमण गर्ने गरेको बताउँदै भण्डारीले तीनै तहका सरकारले लगाएको तेहेरो करका विरुद्धमा सशक्त आन्दोलनमा उत्रने बताए ।
महासंघ राष्ट्रिय कार्यसमितिका निवर्तमान अध्यक्ष भीम खड्काले कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको वनबाट पानी, दाउरा, जडीबुटी, काठ जस्ता वनपैदावार निकासीमा अप्ठेरो परेको कारण उपयोग गर्न नपाएकाले नष्ट भएर खेर जाने गरेको बताए । राष्ट्रिय कार्यसमितिका महासचिव पार्वता गौतमले उपभोक्ताले संरक्षण गरेको वनमा वैज्ञानिक वन व्यवस्थापन नीति लागू गरेर जथाभावी फडानी गरेको आरोप लगाउँदै उक्त व्यवस्था खारेज गरी दिगो वन व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
विरोधसभामा महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आचार्य, सचिव कमला भण्डारी, स्थानीय महासंघ सैनामैनाका अध्यक्ष गोपाल आचार्यलगायतले हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सामुदायिक वनको हकअधिकार सुनिश्चित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।