Butwal Today

होस्टेलमा बालक मृत भेटिएपछि आफन्तद्वारा विद्यालय तोडफोड

१३ आश्विन २०८०, शनिबार
अ+
अ-

सुर्खेत, १३ असोज ।

सुर्खेतको वीरेन्द्रनगर स्थित एक होस्टेलमा आठ वर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा बालक मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका– १ का ८ बर्षीय सलाम पुलामी मगर हुन् ।

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव अहिलेसम्म उठाइएको छैन । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रहरीले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने जनाएको छ । घटनास्थलमा अहिले प्रहरी खटाइएको छ ।

आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । अनुसन्धानको लागि प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएको छ ।