© २०२३
काठमाडौं,१० असोज । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित प्रदर्शनरत अभियन्ता ईःको आन्दोलन स्थगित हुने भएको छ ।
ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच बुधबार चार बुँदे सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो ।
बुधबार भएको सहमतिको खाकामा साविकमा फूटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिकाभित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ उल्लेख छ ।
मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो । त्यसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।
‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।