© २०२३
‘पर्यटनमा हरित लगानी’ भन्ने नाराका साथ विश्व पर्यटन दिवस नेपालमा पनि आज बुधवार विभिन्न कार्यक्रम गरी मनाईदैछ । हरेक बर्षको सेप्टेम्वर २७ लाई विश्व पर्यटन दिवसको रूपमा मनाउने परम्परा अनुसार नेपालमा पनि औपचारिक रूपमा यो दिवस मनाईदैछ । पर्यटन दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा विशेष कार्यक्रम गरि पर्यटकहरूको स्वागत गरिदैछ । नेपालले विगतको कोरोना कालका कारण पर्यटन क्षेत्रमा ठूलो नोक्सानी बेहोरेको छ । अव पर्यटन पुनरुत्थानमा जोड दिनु जरुरी छ । अहिले कोरोना पूरै अन्त्य भएको छ तर कोरोना प्रभावको अवशेष अझै बाँकी छ । जसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रले भोगिरहेको छ । नेपाल सरकारले अव पर्यटन क्षेत्रलाई कसरी माथि उठाउने भन्ने बिषयमा गंभीर भएर सोच्नु जरुरी छ । पर्यटन दिवसकै सन्दर्भमा सरकारका तर्फबाट त्यो घोषणा होस् । संघीय सरकारले मात्र होइन प्रदेश सरकारले पनि पर्यटन क्षेत्रको उत्थानका लागि ठोस काम अघि बढाउन अव ढिलाई गर्नुहुँदैन । सम्मृद्ध नेपालको आधार पर्यटन क्षेत्र पनि हो । पछिल्लो सन्दर्भ पर्यटन दिवससंग केन्द्रित भएकोले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठोस पहल गर्नु जरुरी छ । पर्यटन दिवसकै अवसरमा पर्यटकहरूका लागि विशेष प्याकेजको घोषणा गर्नुपर्दछ । लुम्विनी प्रदेशको पर्यटन मन्त्रालयले गत बर्ष पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ–संस्थाको सहकार्यमा पर्यटकहरूका लागि नयाँ प्याकेजको घोषणा गरेको थियो । होटल व्यवसायी, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल्स लगायत संघ संस्थाको सहकार्यमा भएको राहत प्याकेजको घोषणाले पर्यटन क्षेत्रमा खासै उत्साह बढाउन सकेन । अव प्रदेशले नयाँ शिराबाट पर्यटन प्रवद्र्धनको कार्यक्रम घोषणा गर्नुपर्दछ ।
पर्यटक हाम्रा अतिथि र पाहुना हुन । त्यसैले पर्यटन दिवसको अवसरमा नेपाल आउने पर्यटकलाई स्वागत गर्नु हाम्रो कर्तब्य हो । त्यसो त सरकारले प्रत्येक बर्ष पर्यटन दिवसको पर्यटकलाई स्वागत गर्दै आएको छ । यो औपचारिकमात्रै भैरहेको छ । यसलाई अझ आकर्षित गर्ने ढंगले सोच्नु जरूरी छ । हरेक वर्ष लाखौँ पर्यटक नेपाल आउन थालेका छन । पर्यटकको यो संख्या बढाउन अतिथि देवो भव भनेजस्तै पर्यटकलाई फेरी पनि नेपाल जाउँजाउँ गराउनु पर्दछ । पर्यटक सम्मान कार्यक्रमले विश्वका पर्यटक नेपालमा आकर्षित हुनेछन् । नेपालको नाम विश्वमा चिनाउन अझै सहयोग पुग्नेछ । अवका दिनमा नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुने भएकोले पर्यटक आगमनलाई बढाउनेतर्फ हामी सवैको प्रयास हुनुपर्दछ । पर्यटन दिवसको अवसरमा रूपन्देहीका होटलहरूले पर्यटकहरूलाई विशेष छुट दिनुपर्दछ ।
अव संघीय र प्रदेश सरकारले पर्यटन ब्यवसायीका कार्यक्रमलाई थप टेवा पु¥याउनेतर्फ पहल गरोस् । गत बर्षमात्रै सरकारले नेपाललाई गन्तब्य दशक घोषणा गरेको छ । कताकता यो कार्यक्रम ओझेलमा परेको छ । विगतमा नेपाल भ्रमण बर्ष घोषणा भएको हो तर त्यो प्रभावकारी हुन सकेन भन्ने गुनासो छ । अवका दिनमा नेपाललाई पर्यटन गन्तब्य बनाउन आकर्षक कार्यक्रम घोषणा हुनुपर्दछ । विश्वकै अग्लो हिमाल, दर्जनौं हिम श्रृंखलाहरू, बुद्ध जन्मस्थल लुम्बिनी, शिकार आरक्ष, निकुञ्ज, पर्यटकीय शहर पोखरासंग जोडिएका दर्जनौं गन्तब्य, रारा, आदि सयौं पर्यटन तथा धार्मिक गन्तब्य छन् । अव तिनको अन्तर्राष्ट्रिय स्तरमै पहिचान गराउने गरि सरकारले पर्यटन प्याकेज घोषणा गरोस् । अनिमात्र पर्यटन दिवस मनाउनुको सार्थकता रहन्छ ।