© २०२३
बुटवल, ९ असोज । बुटवलमा सम्पन्न ईस्लामिक अन्तर विधालय हाजिरी जवाफ प्रतियोगिता जामिया गुल्सने भिका सोब–ए हिफ्ज प्राबिले प्रथम हुदै नगद ५ हजार, मेडल, प्रमाणपत्र, जिन्सी उपहारसहित पुरस्कृत भएको छ । ईस्लाम धर्मावलम्बीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्ललेलाहो अलैहे वसल्लमको १४९८ औ शुभ जन्मोत्सव (यौमे बिलादत) को अवसरमा आयोजित प्रतियोगितामा मदरसा कादरीया हिसामुल उलुम दोस्रो हुदै नगद ४ हजार, मेडल, प्रमाणपत्र, जिन्सीसहित पुरस्कृत भएको छ ।
प्रतियोगितामा मदीना बोर्डिङ स्कुल तेस्रो हुदै नगद ३ हजार, मेडल, जिन्सी उपहार तथा रजाय मुस्तफा आधारभुत विद्यालय सान्त्वना हुदै पुरस्कृत भएको आयोजक रजा ए मुस्तफा जामे मस्जिद समितिका वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमतले बताए ।
एक समारोहका बिच हाजी अयुबदिन, समितिका अध्यक्ष हाजी मोहमद इस्माईल, वरिष्ठ उपाध्यक्ष हाजी अब्दुल सहमत, हसरदिनले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै इस्लाम धर्म र संस्कृतिको बारेमा हाजिरीजवाफ प्रतियोगितामार्फत रचनात्मक कार्यक्रम गरिएको बताए ।
हाजिरीजवाफ कार्यक्रममा समितिका सचिव जनुर वारसीले प्रश्नावली चलाएका थिए । यसैगरि समितिले बुधबार नेपाल अपाङ आश्रम बुटवल देविनगरमा खाद्यान्न वितरण, साझ विशेष मिलादुननबी कार्यक्रम र भोलिपल्ट बिहान जन्मजयन्तीको खुशियालीमा बिहिबार बाजागाजासहित बजार परिक्रम कार्यक्रम गर्ने सचिव जनुर वारसीले बताए ।
स्थानिय सरकार र समुदायका अगुवाको सहयोगमा मस्जिदमा २० जना क्षमता छात्राबाससहित मदरसामा ६० जना अध्ययरत छन । जहा ३ जना धार्मिक गुरुहरु र एक जना ईगलिस र नेपाली अध्ययापन गराउने शिक्षक छन । हाल बुटवल उपमहानगरपालिकामा ५ हजार ईस्लाम धर्मावलम्बीहरु समुदायमा रहेका छन ।