© २०२३
दाङ, ७ असोज ।
जिल्लामा पछिल्लो समय आपराधिक र हिंसात्मक गतिविधि दिनानुदिन बढ्दै गएको प्रति नागरिक समाजले सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण गराएको छ । नागरिक समाज दाङले राप्तीद्वारका रुपमा पहिचान बनाएको दाङको कोईलाबास व्यापारिक नाकाबाट नेपाल–भारत पारवहन सुचारु गर्न माग गरेको छ । समाजका जिल्ला संयोजक केबी मसालले लमही–कोईलाबास सडक कालोपत्रे भई सहज रुपमा सवारी आवागमन भईसकेको अवस्थामा पारवहनका रुपमा नाका सुचार गर्ने गरी कुटनीतिक तहबाट पहल गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
बलात्कार, क्रुरहत्या, मारकाट, लुटपाट, दुव्र्यसन जस्ता अमानवीय घटनाहरुले समाज भयभीत हुँदै गएको हुँदा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापनमा सम्वेदनशील भई प्रभावकारी सुरक्षा कायम गर्न सुरक्षा निकायको ध्यानाकर्षण गराएको समाजका सचिव नारायणप्रसाद श्रेष्ठले जानकारी दिए । बडादशैं, तिहार, छठलगायत नेपालीहरुको महान चाडपर्व आउँदै गरेको अवस्थामा बजारमा दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि आकाशिँदै गएकाले जिल्ला अनुगमन समितिबाट स्थलगत अनुगमन प्रभावकारी बनाउन समाजले आग्रह गरेको छ । यसैगरी, उपभोक्ताको आवश्यकता अनुसारको बस्तुभाउ व्यवस्थापनमा जुट्न र मुल्य वृद्धि नियन्त्रण गरी सरल र सहज रुपमा सामग्री उपलब्ध हुने वातावरण बनाउन पनि सरोकार निकायको ध्यानाकर्षण गराएको समाजका सचिव श्रेष्ठले बताए ।