Butwal Today

दाङमा विश्व अल्जाईमर एवं ज्येष्ठ नागरिक दिवस मनाइयो

४ आश्विन २०८०, बिहीबार
अ+
अ-

दाङ, ४ असोज ।

दाङमा ३० औँ विश्व अल्जाईमर दिवस एवम् ज्येष्ठ नागरिक दिवस मनाइएको छ । घोराही उपमहानगरपालिका –१५ मा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले ज्येष्ठ नागरिकहरुका सवालमा आगामी दिनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन् । ज्येष्ठ नागरिकको सम्मानमा पालिका गम्भीरतापूर्वक लागि परेको स्मरण गराउँदै उनले जसले समाज र राष्ट्रलाई यो ठाउँमा ल्याउन भूमिका खेलेको बताइन् । उनीहरुको सम्मान राज्यले गर्न जरुरी रहेको औँल्याइन् ।

सो अवसरमा ज्येष्ठ नागरिक जिल्ला संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद पाण्डेयले युवाले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण, ज्येष्ठ नागरिकले युवालाई हेर्ने दृष्टिकोण र ज्येष्ठ नागरिक र युवा बिचको अन्तर घटाउने विषय प्रमुख कारक रहेको हुँदा यस बारेमा हरेक परिवारमा चर्चा हुनुपर्ने बताए । देशप्रति माया जगाउने, माटो चिन्ने युवा बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाई थियो ।

सेवा केन्द्रका संस्थापक सचिव पद्मप्रसाद शर्माले घोराहीको १९ वटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र गठन भएको बताए । ज्येष्ठ नागरिकलाई उत्साह थप्न, उनीहरुको मनोविज्ञानलाई सम्बोधन गर्न यो अभियान अघि बढेको र यसले ज्येष्ठ नागरिक, अन्तरपुस्ताको वकालत, समिति गठनका बारेमा सुसूचित गर्ने काम गरेको बताए ।

ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले घरपरिवारमा उत्पन्न हुने समस्या निवारणका लागि ज्येष्ठ नागरिकलाई गर्ने व्यवहार सकारात्मक बनाउन जरुरी रहेको बताए । उनीहरुको दुखसुखमा सँगसँगै हिड्न सकेमा समस्या निवारण गर्न सहज हुने विश्वास उनको छ । उमेर ढल्किदै जाँदा अल्जाईमरको असर सबैलाई पर्ने हुँदा स्वाभाविक रुपमा लिएर घरपरिवार, समुदायले सकारात्मक रुपमा लिनुपर्ने गिरीको सुझाव थियो ।

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र १४ का अध्यक्ष चित्रकान्त आचार्यले दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकहरुका लागि निकै उपलब्धी मुलक थलो बनेको बताए । यसले आफहरुलाई सक्रिय बनाएको, समाजमा आफ्नो उपस्थिति हुँदा अरुका लागि हौसला मिल्ने गरेको अनुभव सुनाए ।

कार्यक्रममा अल्जाईमर र ज्येष्ठ नागरिकको बारेमा चर्चा गरिएको थियो । बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग लाग्ने गरेको तथ्यांकले देखाएको छ । यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन् । बुढ्यौलीमा आउने यो रोगबाट बच्न युवा उमेरमै स्वास्थ्यमा ध्यान दिन निकै आवश्यक रहेको सहभागीको भनाई थियो ।

ज्येष्ठ नागरिक जिल्ला संघ, दाङका अध्यक्ष डा भोलानाथ योगीको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक दिवा सेवा केन्द्र घोराही १५ का संयोजक नारायणप्रसाद श्रेष्ठको स्वागत एवम् विषय प्रवेशबाटबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रका उपाध्यक्ष दधिराम खनालले गरेकाथिए ।