© २०२३
रोल्पा, ३ असोज ।
रोल्पामा एक ९२ वर्षीय फरार प्रतिवादी पक्राउ परेका छन् । यसरी पक्राउ पर्ने फरार प्रतिवादी रोल्पा रुन्टीगढी गाउँपालिका १ रिठावोटका पहले कामी भएको प्रहरीले जनाएको छ ।
२०५४ साल चैत १० गतको रोल्पा जिल्ला अदालतको आदेश अनुसार २१ वर्ष ६ महिना जेल सजाय तोकिएका कामीलाई फरार रहेको अवस्थामा २६ वर्षपछि गत असोज १ गते पक्राउ गरेको हो । उनी कर्तव्य ज्यान मुद्दामा फरार थिए । साविक जेद्वाङ गाविस घर भएका उनी हाल रुन्टीगढी गाउँपालिका १ रिठोवोटमा बसाई गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
“कामीलाई ईलाका प्रहरी कार्यालय होलेरीका कार्यालय प्रमुख प्रहरी निरीक्षक देविप्रसाद गैरेको कमाण्डमा खटी गएको प्रहरी टोलीले उनकै घरवाट पक्राउ गरेको हो”–जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रामनारायण गुप्ताले भने, “उनलाई हाल जिल्ला अदालत रोल्पामा पठाइएको छ ।”
“रोल्पा प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिने क्रममा २६ वर्षसम्म फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्”– सूचना अधिकारी गुप्ताले भने ।