© २०२३
काठमाडौं,२ असोज । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा बोलाए पनि महासंघ वार्तामा नजाने अडान लिएको छ। शिक्षा मन्त्रालयले सोमबार नै आज हुने वार्तामा सहभागी हुन आग्रह गरेको भएपनि पनि महासंघले अटेर गरेको हो।
मन्त्रालयले विज्ञप्ति नै जारी गरी सरकारले विद्यालय शिक्षा विधेयक, २०८० संसदमा दर्ता गरिसकेको, विधेयकलाई अन्तिम रूप दिनु अघि नेपाल शिक्षक महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेशागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको जनाएको छ ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेको जनाएको छ। महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार नै रहेको पनि मन्त्रालयले जनाएको छ।
‘अतः महासंघले आकस्मिक रूपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको संयोजकत्वमा मिति २०८० साल असोज २ गते दिनको ३ः ०० बजे शिक्षा मन्त्रालयमा हुने वार्तामा सहभागी हुन महासंघलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ– विज्ञप्तिमा उल्लेख छ।
तर,शिक्षक महासंघ भने पटक पटक सरकारसँग छलफल र माग गर्दा पनि ती मागहरू विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा समावेश नगरेर सरकारले धोका दिएको जनाएको छ। महासंघले भोलि बुधबारदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने घोषणा गरिसकेको छ। जसअनुसार कतिपय विद्यालयका शिक्षकहरू विद्यालय बन्द गरी काठमाडौंमा विरोध प्रदर्शन गर्न हिँडिसकेका छन्।
शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयले वार्तामा बोलाए पनि आफूहरू वार्तामा नजाने बताए।