© २०२३
बुटवल, २ असोज ।
रुपन्देहीको तिलोत्तमामा मजदूरी गर्दै आएका दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो । झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
मदिरा सेवन गरी मजदूरहरु धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । झडपका क्रममा घाइते हुनेहरुमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।
झडपमा संलग्न १३ जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताइए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।