© २०२३
धनगढी, ३१ भदौ ।
पश्चिम नेपालका थारु समुदायले आज ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाइरहेकाछन् । कैलाली, कञ्चनपुरसहित पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा ‘अटवारी’ मनाइरहेका हुन् ।
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्व पछि आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिने उनले बताए । ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइने गरिएको छ ।
थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा यो पर्व आइतबार प्रारम्भ भई सोमबारसम्म मनाइने थारु अगुवा हरिकृष्ण चौधरीले बताए ।
भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ ।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बाँकी भाग व्रतालुले खाने चलन रहेको धनगढी बैह्यावेहडीकी सिताकला चौधरीले बताइन् ।
‘पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहित आफ्नी छोरी बहिनीको घरसम्म पु¥याइदिने प्रचलन छ । पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्ट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ, अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ,’ उनले भनिन् ।
महाभारत कालमा वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु कथन छ ।
ब्रतालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन्, जसलाई ‘कहार्नी’ भनिन्छ । व्रत बसेको दिन साँझ पख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बालेर पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिंह दहितले बताए । रोटी र परिकार बनाउने ठाउँमा व्रतालुबाहेक अन्यलाई जान र छुनसमेत वर्जित छ ।
यस्तो छ महत्व
सूर्यको उपासनाको क्रममा भाद्र महिनामा कृष्णा जन्माष्टमीपछिको शुक्ल पक्षको प्रथम आइतबारका दिन थारु पुरुष तथा महिलाद्वारा दिनभरि व्रत रही साँझ पुरुषद्वारा नै पवित्र तरिकाले रोटी पकाई दही, फलफूल आदि परिकार अग्नि देवतालाई अर्पण गरी आफ्ना विवाहित दिदीबहिनीका लागि अग्रासन तत्पश्चात् सबै परिकार खाँदै मनाइने पर्वलाई अट् वारी भनिन्छ ।
अट्वारी पर्व बल, शक्ति, न्याय र सहयोग तथा सद्धभावको पर्व हो । यस अवसरमा आगो, पानी तथा भिवाँको पूजा गरिन्छ । भिवाँ प्रतिको समर्पण र दिदीबहिनीहरूको माया स्वरूप यो पर्व अत्यन्त सौहाद्र्ध तरिकाले मनाइने गरिन्छ ।
अट्वारीलाई बर्का अट्वारी पनि भन्ने गरिन्छ । अट्वारीमा विशेष गरेर आगो र भिवाँको पूजा गरिन्छ । भिवाँ भनेका बर्किमारका प्रमुख पात्र हुन् । बर्किमार हिन्दु शास्त्र महाभारतसँग मिल्दोजुल्दो छ ।
बर्का अट्वारी आदिवासी थारु जातीले मनाउने एउटा महत्वपूर्ण सांस्कृतिक र धार्मिक परम्परा बोकेको पर्व हो । यो पर्व अष्टिम्की (थारु महिलाले व्रत बसेर भगवान् श्रीकृष्णको जन्मको अवसरमा पूजा गरिने दिन) पछिको दोस्रो आइतबार मनाइने प्रचलन रहेको छ । यो पर्व खास गरेर पुरुषले मनाउने चलन रहेता पनि महिलाहरू पनि व्रत बसेर अट्वारी मनाउने गर्दछन् ।
आइतबारको दिन मात्र मनाउने भएकाले यस पर्वको नाम अट्वारी रहन गएको हो । अट् वारी मनाउन थालिएको सम्बन्धमा एउटा ऐतिहासिक घटना पनि छ ।
स्नेहको पर्व अट्वारी
अट्वारी विशेष गरेर दुई दिन मनाउने गरिन्छ । दुवै दिन अत्यन्त महत्वपूर्णका साथ लिइन्छ । पहिलो दिन पूजापाठ तथा अट्वारीका मुख्य देवता भिवाँलाई रोटी चढाउने दिन अर्थात् फलाहार गर्ने दिन ।
दोस्रो अग्रासन दिइने दिन अर्थात् चेलीबेटीका लागि तरकारी भात छुट्ट्याइने दिन । अट्वारीको तयारी शनिवारसम्ममा पुरा हुनुपर्दछ । शनिवारको राति नै पहिलो भाले बास्नुअघि भिन्सर्या खाने चलन रहेको भल्मन्सा लक्ष्मीनारायण चौधरी बताउँछन् । उनका अनुसार आइतबारका दिन मान्सेले नुहाएर बहरी कोठामा गाइको गोबरले लिपपोत गरी रोटीको परिकार पकाउनका लागि चुलो बनाउनुपर्छ । रोटी पकाउनका लागि चोखो आगो चाहिने भएकाले गन्यारी भन्ने काठबाट आगो पारिन्छ । रोटी पकाउने बेला भान्से व्रतालुबाहेक अरूलाई छुन मनाही हुन्छ ।
सबैभन्दा पहिले एउटा मात्र ठुलो आकारको रोटी एकापत्ति मात्र पकाइन्छ र भिवाँका लागि अलग्गै राखिन्छ । पूजा गर्ने बेला सोही रोटी चुलोको आगोमा हवन गर्नुपर्छ । रोटी पकाइ सकेपछि जति जना व्रतालुहरू हुन्छन् त्यत्तिकै भाग लगाई थप एक भाग पनि लगाइन्छ । सो भागहरूमा रोटी, फलफूल, काँक्राहरू रहेको हुन्छ,’ उनले भने, ‘स्नान गरिसकेपछि सबभन्दा पहिले सबैले आफ्नो भागबाट छुट्टै अर्को भाँडोमा रोटी र अन्य फलफूल निकालेर राख्नुपर्छ । यसैलाई अग्रासन भनिन्छ । अग्रासन छुट्ट्याई सकेपछि सबै प्रकारका परिकारबाट अलिअलि निकाली एउटैमा मुछेर परिकार पकाएको आगोमा होम गर्दै धूप, घ्यू र जलले पर्सिनुपर्छ । सबैले यो कर्म गरिसकेपछि खानपिन सुरु हुन्छ । सो बसाइँको खुवाइपछि फेरि खान मिल्दैन । थप एक भागबाट घरका बालबालिकाहरूलाई बाँड्ने गरिन्छ ।’
यसदिन दिदीबहिनीहरू आफ्नो दाजुभाइको व्यग्र प्रतीक्षामा हुन्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गर्दछन् । दाइभाइहरुले दिदीबहिनीप्रतिको माया दर्शाउने, अनुभूति गर्ने विशेष अवसर नै अट्वारी हो ।
अग्रासन दिन गएका दाईभाईका लागि दिदीबहिनीहरूले मासुका विशेष परिकारहरू बनाएका हुन्छन् । दिदीबहिनी तथा दाईभाई एकदमै प्रफुल्ल मुद्रामा हुन्छन् यस दिन । यति बेला थारु गाउँ नै एकदमै रोमाञ्चक हुन्छ । यसरी थारु समुदायमा अट्वारी विशेष गरेर दुई दिनसम्म मनाइने गरिन्छ ।
सुदूरपश्चिममा सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आज भदौ ३१ गते सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।