© २०२३
चन्द्रौटा (कपिलवस्तु), ३० भदौ । करिब तीन साता पहिलेको कुरा हो । “फितावाला चप्पल लगाउने गरेकी थिँए, देब्रे खुट्टाको माथिल्लो भागमा त्यही चपप्लको फिताको तल सानो फोका देखा प्यो । त्यस पश्चात स्थानीय मेडिकलमा गएँ । उपचार गरेर घर फर्किए पनि बिसेक हुनुको साटो घाउ झनै चिलाउने भयो” ः उषा सुनारले भनिन् ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१, बनकसबासा घर भएकी ५५ वर्षीय सुनार एकल महिला हुन् । उनी अर्घाखाँचीबाट कपिलवस्तुमा करिब तीन दशकदेखि बनकसबासा बसोबास गर्दै आएकी छन् । अहिले उनीसँग ३३ वर्षका एक छोरा समेत रहेका छन् । उनको छोरा सुस्ता मनस्थिति र कम सुन्ने गर्छन् । छोरीको केहि बर्ष पहिले नै विवाह भइसकेको छ । सुनारका अनुसार दोस्रो दिन पुन ः चन्द्रौटामा रहेको किताबुल भन्ने डाक्टरको (निशा पोलिक्लिनिक) मा उपचार गराउँदा सन्चो नभएपछि बुटवलको लम्बिनी सिटी अस्पतालमा उपचार गर्न जाँदा ५ दिन भर्ना समेत भएकी थिइन् ।
सुनारको देब्रे खुट्टाको माथिल्लो भाग कुहिएको छ । जसले गर्दा उनलाई हिँडडुल गर्न समेत अहिले समस्या भएको छ । उनी बुटवलमा भर्ना हँुदा करिब ६५ हजार खर्च भयो । साथीभाइ, छरछिमेकीसँग सरसापटी मागी ऋण काढेर उपचार गरेको सुनार बताउँछिन् । उनको खेतबारी छैन्, बस्नका लागी खरको छानो भएको सानो टहरो छ । त्यसैमा घरायसी कामसँगै नजिकै रहेको जंगलबाट दाउरा बेचेर उनी दैनिकी चलाउँदै आएकी थिइन् । उषालाई के रोग लागेको भन्ने थाहा नभएको उनको भनाई छ ।
अहिले उनी बिरामी हुँदा उनलाई पकाउन, खान, लगाउन र शौचालय जान समेत निकै सकस परेको पीडा उनले सुनाइन् । उनी भन्छिनः “घरमा छोरा छ सुन्दैन, बोल्न सक्दैन यता ऋण लिएको पैसा तिर्न सक्ने अवस्था छैन्, अब उपचार कसरी गर्ने भन्ने चिन्ता छ ।” छिमेकीको सहारामा बाँचेकी सुनारलाई यतिबेला चुनौती थपिएको छ । उषा पछिल्लो ३ साता यता थला परेको स्थानीय विमल विकले बताए । उषालाई हिँडडुल गर्न अप्ठयारो परेको छ । औषधि किन्न समेत अरूको सहारा लिनुपर्ने बाध्यता परेको छ । झन्डै १३ वर्ष पहिले उनको श्रीमानको ब्लड प्रेसरका कारण मृत्यु भएको थियो ।