© २०२३
सुर्खेत, २९ भदौ ।
अब कर्णालीमै पनि एमआरआई मेसिनबाट उपचार सुरुवात भएको छ । प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक प्रविधिको एमआरआई मेसिनबाट बिरामीको उपचार सुरू गरिएको छ । दुई महिना अघि अस्पतालमा भित्रिएको थियो । सो मेसिनबाट आजदेखि उपचार सुरु गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।
मेसिन जडान तथा प्रोसेसिङ प्रोग्रामहरु इन्स्टल गरेपछि शुक्रबार अस्पतालका निर्देशक डा. डम्बर खड्काले एमआरआई सेवा सुरु गरेका हुन् । एमआरआई मेसिनबाट उपचार सुरुवात भएपछि अब कर्णाली प्रदेशका दश जिल्लाका नागरिकहरु लाभान्वित हुने भएका छन् । कर्णालीमा एमआरआई मेसिनबाट उपचार नहुँदा प्रदेशका नागरिकहरु काठमाडौं तथा भारतको लखनउ जानुपर्ने बाध्यता थियो । यसरी बाहिर जाँदा बिरामीहरुको आर्थिक रुपमा महंगो खर्च तिर्नुको साथै लामो समय खर्चनु पर्ने बाध्यता रहेको थियो ।
आर्थिक रुपमा मात्र होइन उपचारको लागि टाढा जानुपर्ने हुँदा मानसिक रुपमा समेत बिरामीलाई समस्या झेल्दै आएका थिए । प्रदेश अस्पतालै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि विरामीहरुले महँगो खर्च गरेर सुर्खेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । यो मेसिनबाट दैनिक ३५ देखि ४० जनालाई जाँचगर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ ।
‘यस मेसिनबाट कर्णालीबासीलाई उत्कृष्ट सेवा प्रदान हुन्छ । यहाँका बिरामीलाई बाहिर रेफर गर्नु पर्दैन’ अस्पतालका निर्देशक डा. खड्काले भने, ‘जसले गर्दा बिरामीहरु बाहिर गएर महंगो खर्च गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् । अब यही स्थानीय स्तरमै उक्त सेवा पाउने छन् ।’
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको थियो । उक्त मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको हो ।