© २०२३
बुटवल,२८ भदौ । ६० केजी सुन तस्करी प्रकरणको फाइल बन्द नहुने सिआईबीले स्पष्ट पारेको छ । आज पत्रकार सम्मेलन गर्दै सिआईबीले अनुसन्धान जारी रहने जनाएको हो ।
आगामी दिनमा पनि अनुसन्धान हुने र त्यसबाट खुल्ने प्रतिवादीलाई समेटेर पूरक अभियोग पत्र लैजाने सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्।
‘अहिले हामीले अनुसन्धान प्रतिवेदन बुझाउन लागे पनि यसको अनुसन्धान सकिएको छैन। फेरी पनि अनुसन्धान हुने छ र पूरक अभियोग पत्र लगिने छ’, बज्राचार्यले भनिन्।
केन्द्रीय अनुसन्धान ब्युरोले माओवादी नेतृ अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।
प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।
सीआईबीका अनुसार हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका छन् ।
१४ विदेशी र ४ नेपाली फरार रहेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।