© २०२३
सुनवल, २७ भदौ । रुख कटानको अनुमति पाएसँगै पश्चिम नवलपरासीको सुनवल देखि बर्दघाट सम्मको २ सय २० केभि डलब सर्किट प्रशारण लाईन निर्माणको कामले गति लिएको छ । यसअघि समयमै रुख कटानको अनुमति नआउँदा प्रशारण लाईन निर्माणको लागि म्याद थप गर्नुपरेको थियो । २१ किलोमिटर लामो प्रशारण लाईनका लागि ५६ ओटा टावर निर्माण गर्नुपर्नेमा हाल सम्म ६ ओटाको निर्माण सम्पन्न भएको छ भने २२ ओटा टावर निर्माणाधिन अवस्थामा रहेको आयोजना प्रमुख विश्वरन्जन मिश्रले जानकारी दिए । दुई चरणमा कटान गर्ने गरी रुख काट्ने अनुमति प्राप्त भएकोमा हालसम्म २ हजार रुख कटान भईसकेको छ । उक्त प्रशारण लाईन बिस्तार क्षेत्रमा कुल ५ हजार ८ सय रुख कटानको अनुमति प्राप्त भएको आयोजनाले जनाएको छ ।
थपिएको म्याद अनुसार यहि वर्षको पुस मसान्त सम्ममा काम सक्ने गरी पावर चाईना सेप्कोले ६० करोड लागतमा प्रशारण लाईन निर्माणको काम गरिहेको छ । भदौ ५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर देखि नवलपरासीको बर्दघाट सम्म २ सय २० केभिको डबल सर्किट प्रशारण लाईनको उद्घाटन गरेका थिए । सोहि प्रशारण लाईनमा अहिले निर्माण भईरहेको विद्युत प्रशारण लाईन बर्दघाट पुगेर जोडिने छ ।
जसबाट पुर्वि नेपाल देखि पश्चिम नेपाल सम्मै गुणस्तरीय विद्युत विस्तारको क्षमता अभिवृद्धि हुने छ । नवलपरासीको सुनवल १३ सुर्यबस्तीमा यसअघिनै १ अर्ब ८० लाखको लागतमा न्यु बुटवल सब स्टेशन निर्माण भईसकेपनि प्रशारण लाईनको काम पुरा नहँुदा २२० केभिको डबल सर्किट प्रशारण लाईन भरतपुर सम्म जोड्ने योजना अधुरो बनेको हो । निर्माण सम्पन्न गर्नुपर्ने समयवाधि भित्र वन मन्त्रालय बाट रुख कटानको अनुमति नपाउँदा प्रशारण लाईनको काम सुरु हुन नसकेपछि आयोजना सम्पन्न गर्न समय थपिएको आयोजना प्रमुख मिश्रले बताए ।
२१ किलोमिटर लामो प्रशारण लाईन अन्तर्गत पर्ने वन क्षेत्रमा १५ हजार रुख कटान गर्नुपर्ने प्रारम्भिक प्रक्षेपण गरिएपनि दोस्रो सर्वेक्षणले कम मात्रै रुख कटान गर्नुपर्ने निष्र्कष निकाले पछि अनुमतिमा ढिलाई भएको थियो । प्रशारण लाईन निर्माण सम्पन्न भएपछि बुटवल देखि बर्दघाट, भरतपुर हँुदै पूर्वी नेपाल सम्म उच्च क्षमताको गुणस्तरीय विद्युत वितरण गर्न सकिने छ ।