© २०२३
सुर्खेत, २६ भदौ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ्ग तिम्ले बगर भेरी नदीमा एक व्यक्तिको शव भेटिएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उक्त शवको पहिचान भने भएको छैन । उक्त शवको पहिचान भने नखुलेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोख्रेलले जानकारी दिए । यद्यपि केही दिनअघि डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको कारण उनको शव हुन सक्ने आशंका गरिएको छ । तर, उक्त शव मेजर पण्डितकै हो भन्ने पुष्टि भने भएको छैन ।
‘१६ दिनदेखि हराएको हुनाले मेजर पण्डितको शव हो कि भन्ने सबैतिरबाट आशंका गरिएको छ’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘मेजर पण्डितको शव हो भन्ने आशंका गरिएको भएता पनि पुष्टि भने भएको छैन ।’ घटनास्थलबाट उक्त शव जिल्ला अस्पताल दुनै ल्याइँदै गरेको उनले बताए । ‘अहिले हामी पनि बाटोमै छौ, बिहानै शव फेला परेको भन्ने प्रहरीबाट जानकारी आएको हो’ उनले भने, ‘उक्त शवको टाउको र अनुहार राम्रोसँग चिनिएको अवस्थामा छैन । त्यसैले पनि शव पहिचान गर्न समस्या भएको छ ।’
मेजर पण्डित यही भदौ १० मात्रिपुराकोटबाट सम्पर्कविहीन भएका थिए । ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको १६ दिन पुगेको छ । बेलुका ७ बजेबाट सम्पर्कविहीन भएका मेजर पण्डितको अहिलेसम्म कुनै सम्पर्क नभएको पोख्रेलले बताए । उनको खोजी गरिदिनको लागि परिवारजनले आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए । उनको खोजी कार्यका लागि सम्पूर्ण सुरक्षा टोलीहरु प्रिचालित भएता पनि मेजर पण्डितलाई फेला पार्न नसकिएको उनको भनाई थियो ।