बुटवल,२५ भदौ । रुपन्देही उद्योग संघ एवं दिगो र सम्मानीत रोजगारका लागि सीप परियोजना (इन्स्योर)को आर्थिक सहयोगमा नेपालगञ्ज क्षेत्रका उद्योगहरुमा कार्यरत पेशाकर्मीहरुको लागि सिप अभिृबृद्धि तालिम कार्यक्रम अन्तर्गत थ्री फेज वायरीङ्ग विषयको तालिम शुरु भएको छ । पब्लिक टेक्नीकल कलेजको व्यवस्थापनमा सोमबार एक समारोहकाबीच तालिमको शुभारम्भ भएको हो ।
विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत २० जना इलेक्ट्रिसियन प्राविधिकहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउने तालिमको उद्देश्यले संचालित तालिमको उद्घाटन रुपन्देही उद्योग संघका द्धितिय उपाध्यक्ष जिवकान्त काफ्लेले गरेका छन् ।
सो अवसरमा बोल्दै काफ्लेले संघले हालसम्म सिप विकास ईकाई मार्फत कामदारहरुको क्षमता अभिवृद्धिका लागि सम्पन्न गरेका तालिमहरु सम्बन्धमा जानकारी गराउँदै उद्योगहरुमा रहेको जनशक्तिलाई आवश्यक पर्ने सिप अभिवद्धि तालिमको पहिचान गर्नुका साथै सम्बन्धित बिषयका तालिमहरुको पाठ्यक्रम निर्माण गर्दै उद्योगीहरुलाई आवश्यक पर्ने तालिमहरु संचालन गर्ने जानकारी गराए । संघका कार्यसमिति सदस्य चन्द्रकान्त खनालले उद्योगहरुलाई चाहिने तालिमहरुको पहिचान गरी आबश्यकता अनुसारका विभिन्न तालिम संघले लुम्बिनी प्रदेश स्तरमा विभिन्न व्यावसायी संघहरुको समन्वयमा संचालन गरेको जानकारी गराउँदै इन्स्योर परियोजनाको सहकार्यमा पहिलो बर्षमा नै धेरै काम भइसकेको र उद्योगीहरुलाई आबश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन भइरहेको भनाई राखे ।
दक्ष प्रशिक्षकद्धारा दैनिक ४ घण्टाका दरले २४ दिन संचालन हुने तालिमवाट सहायक स्तरका प्राविधिकहरुको कार्य सम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार वन्न सहयोग पु-याउन र सहभागिहरुलाई थ्री फेस मोटर कन्ट्रोल प्यानल मर्मत, इन्स्टलेसन, मेजरिङ्ग उपकरणहरुको इन्स्टलेसन, वायमेटालिक रिले, कन्ट्याक्टर, भीएसएस र एएसएस सेक्लेटर स्विच लगायत सैदान्तिक र प्रयोगात्मक रुपमा कक्षाबाट सिकाइ हुने तालिमका प्रशिक्षक गोपाल ठकुरीले बताए ।