© २०२३
बुटवल, २३ भदौ ।
ठूलाखर्क सेवा समाज बुटवल रुपन्देहीले शनिबार तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । समाजले अर्घाखाँचीको ठूलाखर्कबाट रुपन्देहीलगायत आसपासमा बसोबास गर्ने दिदीबहिनी तथा चेलीबेटीहरुलाई जम्मा गरेर तीजमिलन कार्यक्रम सम्पन्न गरेको हो ।
बुटवलको देवीनगरमा आयोजित कार्यक्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत ठूलाखर्कबाट रुपन्देही, नवलपरासी, कपिलवस्तु आइ बसोबास गर्नेहरु सहभागी थिए । आफ्नो मौलिक कला र संस्कृति जगेर्नाको लागि तीज मिलन कार्यक्रम गरिएको समाजका अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले ठूलाखर्क सेवा समाजमार्फत आफ्ना गतिविधिहरु अगाडि बढाइरहेका छन् । संस्कृतिको रक्षा गर्ने र आपसी भाइचारा एवं भातृत्वको विकास गर्ने उद्देश्यले तीज मिलन कार्यक्रम गरिएको समाजका महासचिव किशोर ज्ञवालीले बताए ।
कार्यक्रममा सहभागी महिलाहरुले दिनभर नाचगान गरी रमाइलो गरेका थिए । उनीहरुले यस्ता कार्यक्रमले आपसी भेटघाटका साथै सम्बन्ध सुमधुर बनाउने भन्दै आगामी वर्ष पनि निरन्तरता दिन माग गरेका छन् ।