© २०२३
सुर्खेत, २३ भदौ ।
जारकोटको भेरी नगरपालिकास्थित वडा नम्वर ५ निर्माणाधीन भवनको विषयमा अख्तियारमा उजुरीहरु आएपछि अख्तियारको टोली उक्त ठाउँमा पुग्यो । उक्त निर्माणाधीन भवनको निरीक्षणको क्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतबाट पाँचजनाको टोली शुक्रवार उक्त ठाउँमा पुगेर अनुगमनका साथै मुचुल्का उठाउँदै थियो । यत्तिकैमा स्थानीय युवाहरुले उक्त टोलीमाथि केरकार गर्न थाले । मापसे गरेका ती युवाहरुले उक्त टोलीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जाजरकोटको भेरी नगरपालिका वडा नं. ५ को निर्माणाधीन वडा कार्यालयको भवन निरीक्षण गर्न पुगेको अख्तियारको टोलीमाथि स्थानीयले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाले जनाए । आक्रमणबाट एक जना घाइते भएका छन् । अख्तियारबाट पाँचजनाको टोली निरीक्षणका लागि जाजरकोट गएको र आक्रमण हुँदा चालक मानबहादुर ठाडा मगर घाइते भएको डीएसपी रोकाले बताए । उनका अनुसार अख्तियारको टोलीमाथि शुक्रबार आक्रमण हुँदा गाडी चालक मानबहादुरलाई स्थानीयले मुक्का हानी घाइते बनाएका छन् । उनको स्वास्थ सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ । उनी वीरेन्द्रनगर नगरपालिका–११ का हुन् । संलग्न सोही ठाउँका स्थानीय वीरेन्द्र चन्द, किरण शाही, चक्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।