© २०२३
लमही, २२ भदौ ।
दाङको देउखुरीमा रहेका सवै पालिकाहरु बाह्रै महिना विपतको जोखिममा छन् । वर्षातमा डुवान कटान, हिउँदयाममा शितलहर र गर्मीयाममा डेढेलोको जोखिमा पर्ने गरेका छन् । पछिल्लो समयमा प्राकृतिक विपत व्यवस्थापन गर्न स्थानीय पालिकाहरुले विपत व्यवस्थापन शाखा स्थापना गरी योजनावद्ध रुपमा विपत व्यवस्थापनमा काम गर्दै आएका छन् ।
जस अन्तर्गत लमही नगरपालिका पनि विपत जोखिम प्रभावित नगरपालिका हो । विगत केही वर्षदेखि लमही नगरपालिकाले पनि छुट्टै शाखा स्थापना गरी योजना बनाएर विपत व्यवस्थापनमा लागेको विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले बताइन् ।
लमही नगरपालिकाका मेयर जोगराज चौधरीका अनुसार नगरपालिकाको एक्लो प्रयास नभइ नगरपालिका अन्तर्गत रहेका ३ वटै सुरक्षा निकायहरु, नेपाल रेडक्रस, संघ÷संस्था र वडास्तरीय विपत व्यवस्थापन समितिसंगको सहकार्यमा काम गर्ने गरेको बताए । उनले विपतबाट आउने भवितव्य घटनाका लागि नगरपालिकाले रु ७५ लाखको विपत व्यवस्थापन कोष खडा गरेको बताउँदै साना घटनाहरुमा सुरक्षा निकायहरु, रेडक्रस, स्थानीय संघ संस्थाहरुसंग र ठूलो विपत आइलागेमा विपत व्यवस्थापन जिल्ला समिति र प्रदेश सरकारसंग समन्वय गरेर प्रतिकार्यमा लगोको वताए ।
उनले भने, “चाँडो सूचना पाउने र जनतासंग नजिक रहने सुरक्षा निकायहरु हुन् । उनीहरुलाई उद्दारका लागि आवश्यक सामग्री नगरपालिकाले उपलब्ध गराएको छ । समान्य घटनामा सुरक्षा निकायले उद्दार गर्छन्, विस्थापित नै भएमा नगरपालिकाले तत्कालका लागि अस्थायी बास, आवश्यक खाद्यान्न, लत्ता कपडा व्यवस्थापन गरिदिन्छ । “यद्यपि ठूला विपतका घटनाहरु घटेमा भने प्रदेश सरकार र जिल्ला विपत व्यवस्थापन समितिसंग समन्वय गरेका छौ”–मेयर चौधरीले भने, “हामी सवै भन्दा तल्लो तर धेरै जिम्मेवारी निकायमा वडास्तरीय विपत व्यवस्थापन समिति बनाएका छौ । घटना घट्यो, अन्यत्र स्थानान्तरण गर्नु पर्ने वाध्यता भयो भने मात्र वडाबाट नयाँ ठाउँको खोजी गर्ने राहतका लागि समन्वय गर्ने सवै अधिकार दिएका छौ । वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय विपत व्यवस्थापन समिति छ । सो समितिको सिफारिसमा हामीले काम गरेका छौ ।”
लमही नगरपालिका ५ र १ बाहेक सवै वडाहरु विपतको जोखिममा पर्दै आएका छन् । लमहीमा नेपाल प्रहरी १, वडा प्रहरस् १, इलाकाका साथै २ वटा प्रहरी चौकी रहेका छन् भने सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय, नेपाली सेनाको रिपुदल गण रहेको छ । उनीहरु आइपर्ने प्राकृतिक विपतका लागि हाई अलर्ट रहँदै आएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ वताउँछन् ।
“हामीलाई नगरपालिकाले उद्दारका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ, हामी जहिले पनि तत्पर छौ । यस्ता घटनाबाट क्षति न्यून गराउनका लागि लमही नगरपालिकाले सुरक्षा निकायहरुको सहभागितामा नमुना अभ्यास समेत गराउँदै आएको छ”–उनले भने ।
विपत व्यवस्थापन गर्न रिहारमा बहुउद्देश्यीय आश्रम भवन निर्माण गरिदै
विपतबाट आइपर्ने समस्या समाधानका लागि नगरपालिकाले वहुउद्देश्यीय आश्रय भवन निर्माण गर्न लागेको जनाएको छ । प्राकृतिक विपत्ती कतिवेला आइलाग्छ भन्ने कसैले थाहा नहुने र भइहालेमा विपत व्यवस्थापनका लागि लमही नगरपालिका ९ रिहारमा आश्रय भवन निर्माण गर्न लागेको मेयर चौधरीले वताए । उक्त भवनको संरचना डिजाइन भइसकेको र यसै आर्थिक वर्षदेखि निर्माण सुरु हुने उनले बताए । जसमा २ सय ५० जना मानिस अट्न सक्ने क्षमताको रहने छ ।