© २०२३
बुटवल, २१ भदौ ।
पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गिती एल्बम पशुपतिके जात्रा सिद्राके ब्यापार बिहीवार बुटवलमा विमोचन तथा सार्वजनिक भएको छ ।
एल्बम विमोचनको अवसरमा आयोजित परिचर्चा कार्यक्रममा बोल्ने वक्ताहरूले गिती एल्बमले मधेशका जनताको पीडा गीतमार्फत अभिब्यक्त भएको बताउँदै मधेशमा भएको विकृति र विसंगति उजागर भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सभापति नारायण शर्माले मधेशका जनताको पीडा गीतमार्फत सार्वजनिक भएको बताउँदै आगामी दिनमा पनि समाजमा रहेका यस्तै समस्या उजागर गर्न सर्जक गुप्तालाई शुभकामना दिए ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेश अध्यक्ष नवराज कुँवरले गिती एल्बममार्फत मधेशका जनताले वर्षौदेखि भोगिरहेको पीडा र उत्पीडन सार्वजनिक भएको बताए । अध्यक्ष कुँवरले यस प्रकारका गीत र एल्बमले मधेशका जनतामा जागरण बढाउन सहयोग पुग्ने बताउँदै सर्जक गुप्ताको थप सिर्जनाको लागि शुभकामना दिए ।
त्यसैगरी एल्बममाथि टिप्पणी गर्दै पत्रकार सुमन अधिकारी र वरिष्ठ लोक सर्जक लक्ष्मण खडकाले एल्बम तयार गर्न सर्जकले गरेको मेहनतको प्रशंसा गर्दै कला संस्कृतिको माध्यमबाट विकृति विसंगति बाहिर ल्याउने गरी आगामी दिनमा अझै राम्रो एल्बम बनाउन शुभकामना दिए ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी प्रदेशका सचिव माधव नेपालले समेत एःवमको बारेमा चर्चा गरेका थिए । त्यस्तै पत्रकार विष्णु भुसालले गिती एल्वम सफल हुने विश्वास व्यक्त गरे । एल्बमका सर्जक प्रेमचन्द्र गुप्ताले लोकगीतको माध्यमबाट मशेशको समाजको विद्यमान अवस्थाको चित्रण गर्ने प्रयास गरिएको बताए ।
एल्बममा पाँचवटा गीत समावेश गरिएका छन । गिती एल्बममा स्वर आशा राव र रूश्मिला गौतमको रहेको छ । गीतको रचना प्रेमचन्द्र गुप्ताले गरेका छन् ।