© २०२३
बुटवल,२१ भदौ । लुम्बिनी केबलकार लि.ले हिन्दु नारीहरुको मुख्य चाड हरितालिका तीजको अवसरमा साविक टिकट दरमा २५ प्रतिशत छुट सहितको तीज विशेष अफर ल्याएको छ । भदौ २१ गते (आज) देखि असोज १ गतेसम्म लागु हुने यो अफर १५ जना भन्दा धेरै समूहमा आउनेहरुका लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै नारीहरुको सम्मानमा तीज अफर ल्याएको बताए । यो अफरमा आउनेहरुले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टमा पनि विशेष छुट पाउने सैंजूले बताए । केबलकारको साधारण टिकट दर नेपालीका लागि ७५० रुपैयां, भारतीयका लागि ७५० भारु र तेस्रो मुलुकका नागरिकका लागि २२ अमेरिकी डलर रहेको छ ।
कम्पनीले गत साउनदेखि भदौ मसान्तसम्मका लागि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुट सहित मर्निङ अफर पनि सञ्चालन गरेको छ । मर्निङ अफरमा जस्तै तीज अफरमा पनि सर्वसाधारणको उत्साहजनक सहभागिता हुने कम्पनीको विश्वास छ ।
आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेशन र पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुरमा टप स्टेशन रहेको २।६ किलोमिटर दुरीको केबलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ ।
कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरु आउने गरेका छन् । केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क वापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई दिने गरी सम्झौता भएको केबलकारका सञ्चालक तेजप्रसाद विश्वकर्माले बताए । । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशतका दरले बांडफाड गर्ने गरी सम्झौता भएको छ । टप स्टेशनमा साढे ३ अर्ब लागतमा २ वर्षभित्र १ सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पांच तारे होटेल बनाउने तयारी गरेको छ ।