© २०२३
बुटवल, २० भदौ । मानव बेचबिखन विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा रुपन्देहीमा अन्तरक्रिया तथा सचेतना कार्यक्रम गरिएको छ । मानव बेचबिखनको जालो तोड्न समुदायस्तरमा नागरिकलाई सचेतना जगाउन आवश्यकतालाई मध्येनगर गरि देवदह नगरपालिका र आफन्त नेपालको संयुक्त सहकार्य तथा रोटरी क्लब अफ बुटवल डाउन टाउन र चेली कृषी सहकारी संस्थाको आयोजनामा देवदहमा बुधबार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न अभियान’ नारासहित यो वर्ष दिवस मनाईदै छ । नेपालबाट वर्षेनी मानव बेचबिखनका घटना बढेको हुदा पनि ग्रामिण क्षेत्रमा पुगेर सचेतना जगाउने गरि कामको शुरुवात गरेको रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष कमला हमालले बताईन । समाज रुपान्तरको अभियानलाई सधै आत्मसात गर्दै सामाजिक कार्यमा क्लबबाट निरन्तर कार्य गर्दै आएको उनले बताईन । महिला शसक्तिकरणको कार्यमा देवदह क्षेत्रमा सीपमुलक तालिम आयोजना गरि निरन्तर दक्ष जनशक्ति तयार गर्न क्लब सफल भएको उनले दाबी गरिन ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडाअध्यक्ष कृष्ण अधिकारीले पुर्वाधार विकाससंगै नागरिकमा बौद्धिक विकासलाई जोड दिने गरि सरकारको लगानी जरुरी रहेको बताए । वडास्तरमा नागरिक सचेतना र आयआर्जनमा जोड्ने गरि चलाईएको अभियान फलदायी र प्रभावकारी भएको उनले बताए ।
कार्यक्रममा आफन्त नेपालका पदमा आचार्यले धेरै नागरिक ज्ञानको अभावमा बेचबिखनमा पर्ने गरेको भन्दै सरकारबाट निरन्तर घरदैलोसम्म पुग्ने गरि कार्यक्रम चलाउन जरुरी रहेको बताईन । कतिपय समस्यामा परेकालाई लोभमा पारेर बेचिने गरेको धेरै कथाहरु संस्थाबाट भेटाएको उनले बताईन ।
कार्यक्रममा क्लबका पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, नर बहादुर श्रीष, क्लबका भिपी धर्मदत्त ज्ञवाली, सहसचिव प्रेरणा केसीले स्थानिय सरकारको सहकार्यमा हरेक जसो कामलाई पुरा गर्न आफुहरु तयार रहेको बताए ।