Butwal Today

मानव बेचबिखन संगठित अपराध

२० भाद्र २०८०, बुधबार
अ+
अ-

काठमाडौं, २० भदौ ।

मानव बेचबिखन एक संगठित र जघन्य अपराध भएको हुनाले यसको नियन्त्रणमा समेत संगठित प्रयासको आवश्कता रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

“सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखन निर्मूलन” भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको सत्रौं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको प्रज्ञा भवनमा बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । उनीहरुले सरकार, सम्बद्ध संघ सस्थाबीच सहकार्य र समन्वय गरेर मानव बेचबिखन जस्तो संगठित र जघन्य अपराध नियन्त्रण गर्नुपर्ने बताए ।

माइती नेपालका संस्थापक अध्यक्ष एवं पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालाले दिवस मनाउने कार्यलाई मात्र प्राथमिकता नदिई मानव बेचविखन नियन्त्रण कार्यमा निरन्तर लाग्नु पर्नेमा जोड दिईन् । उनले मानव बेचबिखन नियन्त्रण तथा यसको न्यूनीकरणको लागि अनिवार्य र निःशुल्क शिक्षामा जोड दिनुपर्ने बताईन् । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सारभुत रुपमा मानव बेचबिखन मुक्त समाज निर्माणका लागि तीनै तहको सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताईन् ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले राज्यले मानव बेचबिखन प्रभावितको लागि सामाजिक सुरक्षा प्रदान गर्नु पर्नेमा जोड दिईन् ।

कार्यक्रमका अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले सामाजिक न्याय र आर्थिक सशक्तिकरणको माध्यमबाट नै मानव बेचबिखन तथा ओसारपसार मुक्त र मर्यादित समाज निर्माण गर्न सकिने बिश्वास ब्यक्त गरे । मन्त्री आचार्यले मानब बेचबिखन नियन्त्रण र रोकथामका लागि यस दिवसले हामी सवैलाई थप उर्जा र उत्प्रेरणा मिलोस् भनी सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त समेत गरेका थिए ।

रेडियो मुक्ति सम्मानित

सो समारोहमा मानव बेचविखन तथा ओसारपसार रोकथाम र नियन्त्रणको क्षेत्रमा सचेतना फैलाउने एवम् उद्दार गर्ने कार्यमा सक्रिय योगदान पु–याउने व्यक्ति तथा संस्थाहरुको उच्च मूल्याङ्कन गर्दै पुरस्कार तथा सम्मान गरिएको थियो ।

रेडियोको माध्यमबाट मानव बेचबिखन तथा नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेको भन्दै महिलाहरुद्वारा संचालित बुटवलको सामुदायिक रेडियो मुक्तिलाई सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै रेडियोका अध्यक्ष दीपु पोखरेलले मानव बेचविखन बहुराष्ट्रिय संगठित अपराध भएकाले यसको नियन्त्रणमा समेत संगठित प्रयासको आवश्कता रहेको बताईन् । पोखरेलले लक्षित वर्गलाई मध्यनजर गरेर कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उनले जोड दिईन् । यो सम्मानले आगामी दिनमा मानव बेचबिखन विरुद्ध र महिलामाथि हुने सबै खाले हिंसा विरुद्ध थप सशक्त भएर लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?